Byapar melaa -2074
बुटवल, २६ पुस । आजदेखि रुपन्देहीको तिलोत्तमा स्थित मणिग्रााममा तिलोत्तमा व्यापार मेला हुँदैछ । तिलोत्तमा व्यापार संघको आयोजनामा हुने तिलोत्तमा व्यापार मेला–२०७४ मा ३२५ स्टल सहभागि हुने मंगलबार मेला स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक जेपि कंडेलले जानकारी गराउनु भयो ।
माघको ९ गतेसम्म सञ्चालन गरिने मेलामा तीन लाख दर्शक भित्र्याउने र १५ करोडको कारोवार गर्ने लक्ष्य लिईएको उहाँले बताउनु भयो । १४ दिन सम्म चल्ने मेलामा कालिगण्डकी–तिनाउ ड्राईभर्सन मुख्य आकर्षणका रुपमा रहेको मुल समितिका संयोजक कंडेलले जानकारी दिनुभयो ।
कालिगण्डकीको पानी तिनाउमा ड्राईभर्सन गर्ने हो भने रुपन्देही सहित संगैका जिल्लाहरु कपिलबस्तु र नवलपरासीमा त्यसको प्रत्यक्ष प्रभाव तथा महत्वका बारेमा प्रष्ट्याउने प्रयास गरिएको उहाँले बताउनु भयो ।
‘व्यबसायिक दक्षता अभिबृद्धि र स्वरोजगारः सुदृढ अर्थतन्त्रका निम्ति व्यापार बिस्तार’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा व्यबसायिक तथा पर्यटन सम्बन्धि गोष्ठि समेत गरिने छ । त्यसबाहेक मेलामा भलिवल, कराँते तथा कुस्ति प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य तथा गायन प्रतियोगिता समेत सञ्चालन गरिने संघका महासचिव बिष्णुबहादुर बरालले बताउनु भयो ।
मेलामा पुसको २७ र २६ गते कराँते प्रतियोगिता तथा माघको २, ३ र ४ गते कुस्ती प्रतियोगिता सञ्चालन गरिने छ । त्यस्तै ४ गतेदेखि भलिवल प्रतियोगिता सञ्चालन गरिने र त्यसकालागि मणिमुकुन्द भलिवल क्लवलाई जिम्मेवारी प्रदान गरिएको आयोजकले बताएका छन् ।
मेलालाई अनुशासित र सभ्य बनाउनकालागि आयोजकले डा. रोहितराज क्षेत्रको संयोजकत्वमा अनुगमन तथा मुल्याङ्कन समिति बनाईएको छ भने त्यसबाहेक उपभोक्ता हित संरक्षण मञ्च तथा गुणस्तर कार्यालयले समेत निगरानी गर्ने बताईएको छ । मेलाको प्रचारप्रसारकालागि आजै तिलोत्तमा नगरपालिकामा प्रचारात्मक ¥याली गर्ने तथा ¥याली पश्चात उद्घाटन कार्यक्रम गर्ने तयारी गरिएको छ । मेलाको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
